अर्को केन्द्रीय समिति बैठक असोज पहिलो साता गर्ने गगन थापाको प्रस्ताव

अर्को केन्द्रीय समिति बैठक असोज पहिलो साता गर्ने गगन थापाको प्रस्ताव



काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस केन्द्रीय समिति बैठक विधानले २ महिनामा गर्ने भनेपछि २–२ महिनामा गर्नुपर्ने बताएका छन् । केन्द्रीय समिति बैठकमा सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अर्को बैठकको मितिसमेत प्रस्ताव गरे ।

‘२–२ महिनामा गर्ने भनिएपछि केन्द्रीय समिति बैठक समयमै गरौँ । असोज ६, ७, ८ बैठक गरौँ । अहिले नै मिति तय गरौँ,’ उनले भने ।

महामन्त्री थापाले पार्टीका कुनै नेतालाई फौजदारी अभियोग लागे निलम्बन गर्नुपर्ने लिखित प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा राखेका छन् ।

पार्टी कार्यालय, सानेपामा सोमबार बसेको बैठकमा थापाले सुशासनसम्बन्धी १३ पृष्ठ लामो लिखित प्रस्ताव राखेका छन् । उनको प्रस्ताव छ, ‘कुनै पनि व्यक्तिमाथि फौजदारी अभियोग लाग्छ भने पार्टीसँग अलग राख्नुपर्छ, त्यस्तो अवस्था हुन्न भने निलम्बन गर्नुपर्छ ।’

थापाले कांग्रेसले निराशा भएकालाई विश्वासमा लिनुपर्ने बताए । सरकारमा जाँदा के दियौं भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्ने उनको भनाइ छ । “सरकारमा किन जाने ? प्रतिपक्षमा बस्दा के पाएन र हामीले सरकारमा जाँदा के दियौं ?,” उनले प्रश्न गरे ।

उनले वाचा पुरा गर्न स्वामित्व लिनुपर्ने बताए । “हामीसँग अहिले हातमा संविधान छ अहिलेको व्यवस्था छ । अधिकार छ राम्रो संविधान छ, डकुमेन्ट छ । तर हामीले भनेजस्तो बाचा पुरा भएको छैन । यसको स्वामित्व हामीले लिने हो । यो संविधानलाई मानेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई मानेर परिवर्तन र संशोधनको कुरा सकारात्मक लिएर पार्टीले लिड गर्नुपर्छ । पार्लामेन्टलाई थप समावेशी बनाउने हो । स्थिर सरकारका लागि उपाय छन्,” उनले भने ।

उनले प्रदेश सरकारका बारेमा प्रश्न उठेको भन्दै चारवटा प्रदेशको नेतृत्व गर्दा प्रदेश सरकार चाहिन्छ भन्ने स्थापित गर्न सक्नुपर्ने बताए । उनले अरु मिसन ०८४ को कुरा गरिरहेको भन्दै पार्टीले चार वर्षको लिड गर्नुपर्ने धारणा राखे ।

“२०८० सालमा छौँ तीन तहमा हामी सरकारमा छौँ । अझै साढे चार वर्ष समय सरकार चलाउन छ । हामीले यो समयमा काम गर्नुपर्छ,” थापाले भने, “सबैजना ०८४ को कुरा गर्छन् । यो चार वर्षको जिम्मेवारी कसको त ? हामीले लिड गर्नुपर्छ ।”
थापाले पछिल्लो दिनमा नागरिकहरुलाई भेट्दा महशुस गरिएका विषयबाट आफू आत्तिएको बताएका छन् ।

थापाले नागरिकमा निराशाको क्रम बढेको बताए । ‘पछिल्लो दिनहरु जे मैले महशुस गरेको छु, त्यसबाट म आत्तिएको छु । जो बाहिर जान पायो, उ खुसी छ । जो बाहिर जान पाएन, उ दुखी छ,’ थापाले बैठकमा भने, ‘गाउँको किसानदेखि शहरको सानोदेखि ठूलो उद्यम गरिहेको मान्छे कोही पनि खुसी देख्दिन । खुसी नभएको मात्रै होइन, निराश भएको देख्छु ।’

थापाले आफूलाई एनजीओको बारेमा थाहा नभएको बताएका छन् । बैठकमा बोल्दै उनले आफ्नै दलकी नेतृ आरजु राणा देउवालाई जवाफ फर्काउँदै आफूसँग एनजीओको अनुभव नभएको बताएका हुन् ।

आरजुले केन्द्रीय समिति बैठकमा महामन्त्रीको कार्ययोजना एनजीओको ‘विसलिस्ट’ जस्तो लागेको बताएकी थिइन् । आरजुलाई जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

“साथीहरूले कार्ययोजना एनजीओको विसलिस्ट जस्तो छ भन्नुभयो । मैले एनजीओमा काम गरेको अनुभव छैन,” उनले भने ।