आप्रवास नीतिमा कडाई गर्दै अमेरिका

आप्रवास नीतिमा कडाई गर्दै अमेरिका



बाल्टिमोर,अमेरिका,जनवरी २८ । अमेरिकामा अन्य मुलुकबाट आई बसोवास गरिरहेका आप्रवासीहरुलाई वैधानिक बसोवासको लागि आवश्यक कागज बनाउन कठीन हुँदै गएको छ । आप्रवासी नीतिप्रति अनुदार रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्ति र नीतिहरुका कारण आप्रवासीहरु अमेरिकाभित्रै असुरक्षित महसुस गर्न थालेका छन् । सोमवार मात्र अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको नीतिलाई समर्थन गर्दै कानुनी आदेश गरेपछि कतिपय विश्लेषकहरुले अब अमेरिका आप्रवासीहरुप्रति अझ बढी अनुदार हुने टिप्पणी गरेका छन् ।
सोमवार नौ सदस्यीय सर्वोच्च अदालतमा पाँच जना न्यायाधीशले आप्रवास सम्बन्धी राष्ट्रपतिको आदेश सदर गर्दै तल्लो अदालतको आदेश उल्ट्याउने पक्षमा मत जाहेर गरे । तर बाँकी चार जनाले भने विपक्षमा मत दिएका थिए ।   गत अक्टुबरमा तल्लो अदालतले राष्ट्रपतिको नीति अमेरिकी सपना विपरित भन्दै खारेज गरिदिएको थियो ।
तर सर्वोच्चले राष्ट्रपतिको नीतिको पक्षमा बहुमतले निर्णय गरेपछि आप्रवासीहरु अन्यौल र असुरक्षित महसुस गर्न थालेका छन् । राष्ट्रपति ट्रम्पको नीति अनुसार, अब ग्रीनकार्ड आवेदकको निवेदन स्वीकार गर्नुपूर्व आवेदकले कुनै सरकारी सहायता लिएको थियो कि थिएन भनी अनुसन्धान गर्नेछ र त्यस्तो सुविधा लिएको छ वा लिने सम्भावना देखिएको छ भने पनि ग्रीनकार्डको आवेदन अस्वीकार गर्न सक्नेछ । सरकारी सुविधा अन्तर्गत फुड स्ट्याम्प,औषधोपचार सुविधा,आवासका लागि सरकारी सुविधा जस्ता विषयहरु उल्लेख छन् । ट्रम्प सरकारको यो नीतिबाट ६० लाखभन्दा बढी आप्रवासी प्रभावित हुने अनुमान गरिएको छ । 
गत सेप्टेम्बरमा अमेरिकी सर्वोच्च अदालतले आप्रवासीहरूको शरण लिने अधिकारलाई सीमित तुल्याइदिने व्यवस्था गर्न सरकारलाई अनुमति दिएको थियो।