काबुलमा अलपत्र परेका नेपालीलाई पाकिस्तानबाट स्वदेश फर्काउन सहमति

काबुलमा अलपत्र परेका नेपालीलाई पाकिस्तानबाट स्वदेश फर्काउन सहमति



काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा अलपत्र नेपालीलाई पाकिस्तानबाट स्वदेश फर्काइने भएको छ । अहिले अफगानिस्तानमा अन्तर्राष्ट्रिय उडान सञ्जाल अवरुद्ध भएकाले काबुलमा रहेका नेपालीलाई अफगान–पाक स्थलमार्गबाट स्वदेश फर्काउन सहमति भएको इस्लामाबादस्थित नेपाली राजदूत तापस अधिकारीले बताएका छन् ।

उनका अनुसार अफगानिस्तानको जलालाबाददेखि पाकिस्तानको तोरखाम बोर्डरसम्म आउने विषयमा समन्वयको लागि पाकिस्तानको विदेश मन्त्रालयका अधिकारीसँग कुराकानी भएको छ । नेपालीसहित विदेशी अरू नागरिकका हकमा मान्य हुने गरी तत्काल अनअराइभल भिसा दिइने र भिसाको पैसासमेत मिनाहा गर्न सकिने प्रबन्ध तय भएको उनले जानकारी दिए ।

जलालाबाद–तोरखाम ७० किलोमिटरको दूरीमा पर्छ । त्यहाँबाट पेसावर वा रावलपिन्डी पुगेपछि इस्लामाबाद–काठमाडौंको उडानबाट नेपालीहरूलाई स्वदेश फर्काउने बारेमा पनि कुराकानी भएको जनाइएको छ ।