प्रवीण भट्टराई
उहिले हाम्रा गाउँमा
दशैं आउनुभन्दा धेरै अघि
घर रंगाउनलाई
रातो माटोको जोहो गर्न
वल्लो घर, पल्लो घर,माथ्लो घर
सबै मिलेर थुन्चे र ढाकर बोकेर
मुडेको लेकतिर बास बस्दै गईन्थ्यो
पाली, गोठ पोत्नलाई
कमेरो बोक्न बेशी किनार झरिन्थ्यो
नगरा बजाउदै जनसहभागितामा
भुटेका मकै र भटमास मोहीसँग खाँदै
कोत, बाटो,पँधेरो अनि
देउराली र चौतारी सफा गरिन्थ्यो
घोर्ले खसीलाई मीठो मसिनो खुवाएर
चप्पल पड्काउँदै
उसलाई डोरयाउदै छरछिमेकतिर पुगिन्थ्यो
अमिनीमा पुगेर ल्याएका लुगा कपडा
आफ्नै घरमा महिनौं लगाएर सिलाईन्थ्यो
खुकुरी- खुँडा, तरवार-भाला, सेंगी
हँसिया-खुर्पा,हथौडा चुलेसी, बाम्फोक, कोदाली-फालीलाई कोतमा राखी पूजा गर्न
हप्तौं लगाएर अर्जापिन्थ्यो
नौ दिनसम्म नगरा बजेको आवाज
पल्लो गाउँसम्म पुग्थ्यो
हप्तौं लगाएर ढिकीमा चिउरा कुटिन्थ्यो
जमरा राखेर हरेक दिन
घण्टी बजाउँदै पूजा गरिन्थ्यो
मठ, मन्दिरहरूमा दिनदिनै गईन्थ्यो
मामाघर जाने दिन गनिन्थ्यो
रोटे पिंग र लिंगे पिंगका लागि
काठ, लिंगो र लठ्ठोको जोहो गरिन्थ्यो
परदेशमा गएका आफन्तलाई
दशैंको बेला घर आउन खबर गर्दै
हुलाकबाट टिकट टाँसेर चिठी पठाईन्थ्यो
र पो
दशैं आएको थाहा हुन्थ्यो ।
आजकल
के शहर के गाँउ
छ महिना पहिलेदेखि
फेसबुक र ट्विटरमा दशैं आउँछ
त्यही वालमा
खसी, बोका,भेडा र च्यांग्रा कराउँछ
लौरो टेकेको
अर्थात
जोनी वाल्करका
रातो,कालो,पहेंलो,सुनौलो र निलोसमेत
हे गाईज वाईफाई चियर्स भन्दै हाजिर हुन्छ
न घर रंगाउन माटो चाहिन्छ,
न लुगा सिउन मसिन
न हतियार अर्जाप्नु पर्छ
न बाटो खन्न जानुपर्छ
न चिउरा कुट्न ढिकी चाहिन्छ
न जमरा राख्नुपर्छ
न मामाघर जानुपर्छ
केवल चाहिएको छ
गतिलो ब्यालेन्स भएको प्लास्टिकको कार्ड
क्रेडिट, डेबिट वा प्रिपेड भए पनि पुग्छ
बेगवान अनलिमिटेड वाईफाई भए पुग्छ
तेती भएपछि
दशैं साँच्चिकै गज्जब हुन्छ ।
श्रीजङ्गा-५, तेल्लोक, ताप्लेजुग ।
हाल: प्रदेश नं. ३, काठमाण्डौं ।