मन्त्री छान्न कांग्रेसलाई सकस

मन्त्री छान्न कांग्रेसलाई सकस



काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक समीकरण मिलाएर मन्त्री छान्न सकस परेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पार्टीले पाएका मन्त्रालयमध्ये २ वटा मन्त्रालय पौडेल पक्ष र एउटा सिटौलालाई पक्षलाई दिन सकिने बताएका थिए । तर पौडेल समूहले आफ्नो पक्षले ३ वटा मन्त्रालय पाउनुपर्ने दावी गरेको थियो ।

देउवाले भने कुनै पनि हालतमा तीन मन्त्रालय दिन नसकिने बताएपछि पौडेल पक्ष अन्तिममा दुई मन्त्रालयमै राजी भएको छ । पौडेल समूहमा पनि कसलाई मन्त्रीमा लैजाने भन्ने विषयमा विवाद भयो । वरिष्ठ नेता रामचन्द्र पौडेलले तेजुलाल चौधरीको नाम सिफारिस गरेका थिए भने प्रकाशमान सिंहले राजन क्षेत्रीको नाम सिफारिस गरेका थिए । महामन्त्री शशांक कोइरालाले डा. मीनेन्द्र रिजालको नाम सिफारिस गरेका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले उमाकान्त चौधरीको नाम सिफारिस गरेका छन् । रिजाल र चौधरीको नाम फिक्स भए पनि चौधरी र केसीमध्ये कसलाई मन्त्री बनाउने भन्ने विषयमा सहमति जुटिसकेको छैन ।

यसअघि नै आफू निकटका बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का र उमेश श्रेष्ठलाई मन्त्री बनाएका देउवाले थप एक जनालाई पनि मन्त्री बनाउने तयारीमा छन् । सम्भवतः पुष्पा भुसाल मन्त्री बन्ने सूचिमा छन् । देउवाले सम्भवतः आज नै मन्त्रिपरिषद् विस्तार हुनसक्ने बताइएको छ ।