"समृद्ध नेपालको सपना, प्रवासी नेपालीको चाहना " को श्रृङ्खला -१०

तारा निरौला विगत लामो समय देखि अमेरिकामा बसोवास गर्दे आउनु भएको छ । न्यूयोर्कको कोलम्बिया बिश्वबिध्यालयवाट विद्यावारिधीको उपाधि लिनु भएका निरौला नेपालको आर्थिक विकासमा राजनेता (स्टेटसम्यानसीप)को अभाव खटकिएको महसुस गर्नु हुन्छ । आफनो अधिकांश समय अध्यापन र अनुसन्धानमा खर्चिनु भएका निरौला नेतृत्व र नीतिगत विकासमा दख्खल राख्नु हुन्छ । निरौला कोलम्बिया विश्वविद्यालयको शिक्षा संकायमा प्राध्यापन, वरिष्ठ शिक्षा अनुसन्धानविद र निर्देशकको रुपमा कार्य अनुभव हासिल गर्नु भएको छ। यसको अलाबा न्यू स्कूल विश्वविद्यालयको शिक्षा संकायको निर्देशक र प्राध्यापकको रुपमा पनि अनुभब संगाली सक्नु भएको छ । निरौलालाई नेपालको विकाशको प्रचुर संभावनालाई व्यवस्थापन गर्न नेपाल सरकार चुकेकोमा चिन्ता छ । 

 

नेपालको आर्थिक विकासका चुनौतीहरु र संभावनाका विविध पाटाका वारेमा निरौला सँग "समृद्ध नेपालको सपना, प्रवासी नेपालीको चाहना " को श्रृङ्खला -१० का लागि मधुकर अधिकारीले गर्नु भएको कुराकानीको सम्पादित अंशहरु : 

तपाईले प्रवासी जीवन विताउनु भएको कति भयो ?

करिव पच्चीस वर्ष अमेरिकी प्रवासी भूमिमा विताई सकेको छु । अध्ययनको सिलसिलामा अमेरिका आएको थिए । अध्ययन पश्चात यतै वसोवास गर्दे आएको छु । 

प्रवासको अनुभूति कस्तो छ त ?

खासमा मेरो अनुभवले के देखाएको छ भने प्रवासी भूमिमा टेकिसकेपछि आफ्नो मातृभूमिको माया अझ वढेर आउने रहेछ, अनि प्रवासी भूमिमा वसेर पनि नेपालका जुनकुनै विषयलाई पनि अलि वढी नियालेर हेरिने रहेछ । मातृभूमिमा केही असहज परिस्थिति हुँदा छटपटि र कौतुहलताले गहिरो डेरा जमाउने रहेछ । त्यसैले स्वाभाविक रुपमा मातृभूमि प्रतिको स्नेहमा कमि आउँदैंन्। अर्को मेरो सन्दर्भमा भन्नुहुन्छ भने यहाँको प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गर्ने मौका पाए र सेवा गर्ने अवसर पनि पाए त्यसले विश्वको समृद्ध देशको शिक्षाको तौर तरिकाले देश निर्माणमा कस्तो योगदान दिन सक्छ भन्ने अनुभव पनि प्रत्यक्ष गर्न पाईयो । 

नेपालले अझै पनि किन हरेक क्षेत्रमा सोचे जस्तो विकास हासिल गर्न सकेको छैंन त ?  

हेर्नुस, नेपाल विश्व मानचित्रमा भूगोलमा केही सानो क्षेत्रफल होला तर जनसंख्याको आधारमा पक्का पनि त्यति सानो देश हैंन, छैंन् । मेरो धारणा माग्नुहुन्छ भने नेपाल प्रकृतिको वरदान पाएको र समृद्धिका लागि धेरै आधारहरु भएको मुलुक हो भन्दा अत्तियुत्ति नहोला । यस्तो हुँदा हुँदै पनि जनताले न्यूनतम अधिकार उपयोग गरेर सरल र सुखी जीवन यापन गर्न नपाउनु र दुखी जीवन विताईरहनु विडम्वना नै हो । यसको पछाडिको कारण राजनैतिक अस्थिरता नै हो । राष्ट्रको हितमा दूरदर्शी दृष्टिकोण नराखी गरिएको राजनीतिले जनताको जीवन कष्टकर बनाएको छ । राष्ट्र र जनताको हितलाई सर्बोपरी ठानी देशलाई कुशल नेतृत्व दिने राजनेताको अभाव रहेको मैले ठानेको छु । 

तर नेपालमा पछिल्ला तीन दशक हेर्ने हो भने राजनीतिक तहमा धेरै परिवर्तन भएको देखिन्छ नि, किन यस्तो स्थिति रहेको ठान्नुहुन्छ ?

हो ,तपाईले भन्नुभए जस्तै २०४६ देखि २०७३ को समय हेर्ने हो भने नेपालमा राजनीतिक परिवर्तन धेरै भएको छ । धेरै हदसम्म आज सम्म विभिन्न राजनीतिक अभ्यासहरु भएतापनि हानाहान र तानातानको राजनीतिमै प्राय जसो हाम्रो दैनिकी बनेको छ। कतिपय राम्रा भनेर ल्याइएको बिकाशका राष्ट्रिय नीति र कार्यक्रमरुमा पनि कार्यान्वयन सम्बन्धि प्रभाबकारी राजनैतिक प्रतिवद्धता भएनन। त्यसमा राजनीतिक दूरदर्शिताको अभाव नै अहम हो । प्राय सबै क्षेत्रलाई राजनैतिक अस्थिरताले गाँजेको देखिन्छ र कार्य सम्पादनमा स्थायित्व भएन। अर्को कुरा राजनीतिक परिवर्तनलाई सामान्य बनाउंदै आर्थिक परिवर्तनलाई लिएर अगाडि वढनु पर्ने हो । तर राजनीतिको निहुँमा विकासमा अवरोध गर्ने सोचले गर्दा हामी पछाडि परयौ । देशलाई समृद्ध वनाउने र सुरक्षित नमूना राष्ट्रको रुपमा अगाडि वढाउने हो भने दिर्घकालिन नीति र रणनीतिहरुमा  सुधार गर्दे आर्थिक मुद्दालाई केन्द्रमा राख्नु पर्छ भन्ने हो । कुनै  पनि राष्ट्रको बिकासमा सबै भन्दा ठूलो लगानी त्यस राष्ट्रका जनतामा हुनु पर्छ, सिंगापुर यसको एउटा राम्रो उदहारण हो । 

 नेपाललाई समृद्ध देश वनाउन कुन क्षेत्रमा प्राथमिकता दिनु पर्छ जस्तो लाग्छ ?  

नेपालमा धेरै सम्भावनाहरु छनस् खासमा नेपाल कृषि प्रधान मुलुक भएको कारणले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नै पर्छ । यसमा लगानी कमगर्ने सुधारको प्रक्रिया नथाल्ने हो भने हामी अगाडि वढन सक्छौं जस्तो लाग्दैंन्। कृषिको आधुनिकीकरण गर्दे उत्पादन बढाउने तर्फ केन्द्रित हुन गर्न सक्नुपर्छ। आधुनिकीकरणको नाममा अप्राकृतिक प्रकारको अभ्यास भने गरिनु हुन्न । 

नेपाल यस्तो भौगोलिक विविधता भएको देश छ, जहाँ वाह्रै महिना तराई हिमाल पहाडको मौसम अनुकूलका खेती गर्न सकिन्छ। तराईलाई अन्नभण्डार,पहाड र हिमाली क्षेत्रहरु फलफूल र पशुपालनमा केन्द्रित गर्दे पच्चीस वर्ष अगाडीको दृष्टिकोण राखी काम गर्न सक्नु पर्छ । माग र आपूर्तिको लेखाजोखाका साथ लगानी गर्ने हो भने धेरै वस्तुमा हामी आत्मनिर्भर बन्न सक्छौं । 

दोश्रो मलाई पर्यटन विकासवाट नेपालको आर्थिक समृद्धि प्राप्त गर्न सकिने सम्भावनाहरु धेरै छन् जस्तो लाग्छ।  नेपालको सुन्दरता बेचेर हामी नेपाललाई संमृद्धि तिर लैजान सक्छौ। सम्भावना असिमित छन् तर ति सम्भावानाहरुलाई चिन्न सक्नु पर्छ ।पर्यटन क्षेत्रको विकासको लागि दीर्घकालिन नीतिहरु र कार्यक्रम बनाई कार्यान्वायन गर्न सकियो भने विश्वका हरेक कुनावाट नेपाल घुम्न आउने संभावना रहेको छ । 

तेश्रो , हामीलाई प्रकृतिले जलश्रोत र जडिवुटी बिकाश सम्बन्धि धेरै सम्भावना दिएको छ। हामीले जलश्रोतको र अन्य प्रकृति जन्य श्रोतहरुको बिकाश गर्न सक्यौ भने देशको आर्थिक बिकाशमा ठूलो सहयोग हुन्छ । एउटा उदाहरण जडिबुटीको लिउँ , कच्चा पदार्थ विदेश पठाएर त्यसको कयौ गुणा वढीमा प्याकेटमा आफैले आयात गर्नु पर्ने अवस्था आउने थिएन ,यदि हामीले आफ्नो श्रोत आफैले प्रयोग गर्न सकेमा प्याकेट निर्माण गरेर निर्यात् गर्न संभव छ ।   

तपाईलाई के लाग्छ , आगामी पन्ध्र वर्षमा नेपाल समृद्ध देश वन्न सक्छ ?

मलाई विश्वास छ, बलियो जग बसाइ सम्मृद्धिको आशापूर्ण यात्रामा हामी लाग्न सक्छौ । किनकि हामीहरुले दुरदर्शी र राम्रा नीति र कार्यक्रमहरु वनाएर आगामी पन्ध्र देखि पच्चीस वर्ष सम्ममा क्षेत्रगत प्राथमिकतामा राखी प्रतिवद्धताका साथ् काम गर्न सक्यौ भने देशको भविष्य उज्ज्वल हुन्छ। खासमा विकासको लागि लगानी गर्नु पर्छ ,यस्तो लगानी स्वदेश भित्र  र बाहिरका लगानी कर्ताहरुलाई आकर्षित गर्न सक्नु पर्छ । विकासका लागि आधारभूत सुविधाहरुको विकाश गर्नु जरुरी हुन्छ ।  देश बिकाशको लागि राजनैतिक स्थायित्व, शान्ति र सुरक्षा अहम विषयहरु हुन्। 

देशको लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा सरकारको अल्प र दीर्घकालीन दुवै लक्ष्य हुनु पर्छ र विकासको खाका (व्लु प्रिन्ट) बनाई कटिबद्ध भएर लाग्न सक्यौ भने नेपाललाई विकसित देश वनाउन गाह्रो छैंन् । 

देशको बिकाश सरकारको प्रयासमा मात्र सिमित राखिनु हुन्न । विकाश जनताले गर्ने र जनता केन्द्रित हुनु पर्छ र सरकारको काम त्यसको लागि चाहिने आबश्यक पूर्वाधारहरु तयार पारिदिने हो । आजमात्र देख्ने होइन ,दुर दृष्टि हुनु पर्छ। राष्ट्रको बिकाशमा प्रवासी नेपालीहरुको पूँजी, सीप र ज्ञानको उपयोग गर्न सक्नु पर्छ। त्यसैले म त के भन्छु भने विकास जनता केन्द्रित, जनता द्वारा जनता कै लागि हुनु पर्छ, यसमा दिगो र स्थायित्व हुन्छ। यदि सही तरिकाले आर्थिक दृष्टिकोण वनाएर नीति वनाउने हो भने आगामी पन्ध्र वर्षमा देशलाई उच्च गतिको आर्थिक वृद्धिमा निकै माथि पुरयाउन त्यति गाह्रो कुरा होइन।  

अलि कति प्रसङ्ग वदलौं, विदेशमा वस्ने नेपाली र स्वदेशमा वस्ने नेपालीहरुको वीचमा एक खालको विमेल जस्तो देखिन्छ, यसको कारण के होला ?

मेरो विचारमा सही सोचको र बुझाईको अभाव हो । अहिले मानव विकासक्रममा एउटा भूगोल भित्र मात्र  रहेर देश बिकाश हुन सक्दैन । नेपालको सन्दर्भमा हेर्नुहोस न कति नेपालीले आफ्नो भूगोल भन्दा वाहिर अवसरको खोजीमा समय विताईरहेका हुन्छन् । अव सीमा भित्र मात्र देश रहन सक्तैंन् , त्यस्तै मध्ये नेपालीहरु पनि विश्वको विभिन्न भूगोलमा पुगेका छन्, उनीहरुको ध्यान आफनो मातृभूमिमा हुने गरेको छ ,जुन पुष्टि भईसकेको पनि छ। बढ्दो सुबिधाको कारण संसारको जुनसुकै ठाउँमा भएपनि मातृभूमिको बिकाशमा प्रवासी नेपालीको भूमिका महत्वपूर्ण हुन्छ र हुन सक्छ ।

यदाकदा सामाजिक सञ्जालहरुमा विदेशिएकाहरु प्रति पलायन भएका जस्ता नकारात्मक टिप्पणीहरु देखिन्छन तर त्यो फराकिलो सोच र बुझाईको अभाब अनि आवेगको टिप्पणी हो । प्रवासमा वस्ने नेपालीहरुले पनि देशको लागि राम्रो सहयोग गरेका धेरै छन्, आर्थिक योगदान एउटा ज्वलन्त उदारहण हो । त्यसैले यस्तो टिप्पणी यथार्थपरक छैंनन जस्तो लाग्छ । 

अन्त्यमा तपाईले नेपालमा गर्नु भएको या आगामी दिनमा लैजान चाहनुभएको केही योजना छ की ?   

हेर्नोस, कत्ति कुरा व्यक्तिगत रुपमा गरिएको छ भने कत्ति कुरा सामुहिक प्रयासमा भएका छन् । हामीहरु साथी भाई मिलेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दे आएका छौंस् विद्यालयको निर्माण, पुस्तकालयको निर्माण,सानातिना आर्थिक आर्जनका कामहरु गरिरहेका छौं। हामीहरुले आवश्यक परेको खण्डमा विज्ञता प्राप्त गरेको क्षेत्रमा सहयोग गर्न सदैव तत्पर पनि छौं । सामान्य र आपतकालीन परिस्थिति दुबैमा प्रवासमा बस्ने नेपालीहरु सहयोग गर्न तत्पर सधै छन् र हुन्छन पनि । मैले गत वर्ष भुकम्प गएपछि स्थलगत रुपमा प्रभावित क्षेत्रहरु जस्तै सिन्धुपाल्चोक, धादिग, स्यांजा जस्ता ठाउहरुमा राहतको काम गरेर फर्के । दुई महिना सिन्धुपाल्चोकका गाउँ गाउमा मात्रै बिताईयो, सकेको सेवा गरियो । नेपाल बाहिरको श्रोत र साधान नेपालको बिकाशमा लगाउन नेपाल सरकारले उचित ब्यबस्थाहरु मिलाई हामि प्रवासमा बस्नेहरुलाई आकर्सित गर्न सक्नु पर्छ । भोलिको  पुस्तामा के हुन्छ त्यो पछिको कुरा हो ,तर आजको प्रवासी नेपाली पुस्ता नेपालको बिकाशमा सहभागी हुन सधै इच्छुक छ । यो बिशाल श्रोतलाई सहज् तरिकाले नेपालको बिकाश कसरि लगाउने भन्ने कुरामा नेपाल सरकारले बिशेष ध्यान दिनु पर्छ । 

मलाई नेपालको विषयगत, ब्यबहारिक र अनुसन्धान मुलक एबम बैज्ञानिक ढंगले शिक्षा क्षेत्रको विकास गरेर नेपालको उन्नतिमा सहयोग पुर्याउने अझै पनि प्रखर ईच्छा छ । अमेरिकाको विश्वविद्यालयका उपाधिहरु विश्व वजारमा प्राय मान्य हुन्छन । त्यस्तै खालको नेपालमा पनि उत्कृस्ट र बिश्वमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा पद्धतिको विकासशमा मेरो स्तरबाट जे सम्भब हुन्छ, त्यो गर्ने मेरो व्यक्तिगत सोच छ । सबै प्रकारको हावापानी पाईने प्राकृतिक रुपमा विश्वकै अति सुन्दर देशमा विश्व प्रख्यात बिश्वबिध्यलायाहरु वा संसारकै उत्कृस्ट शैक्षिक ब्यबस्था बनाई विश्वलाई त्यो अवसर नेपालमा किन  उपलब्ध नगराउने रु देश बिकाश भन्नुनै जनतालाई संमृद्धिको स्वाद र अनुभब दिनु हो र यो काम उनिहरु केन्द्रित लगानी बाट मात्र सम्भब हुन्छ भन्ने मेरो बिश्वास छ । 


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter