सिन्धु कांग्रेस: प्रेमध्वजकाे समर्थन वंशलाललाई

सिन्धु कांग्रेस: प्रेमध्वजकाे समर्थन वंशलाललाई



सिन्धुपाल्चाेक । कांग्रेस सिन्धुपाल्चाेक सभापतिका लागि दाेस्राे चरणकाे मतदान सुरु भएकाे छ । चाैतारामा सुरु भएकाे मतदानमा जंगबहादुर तामाङ र वंशलाल तामाङबीच प्रतिस्पर्धा भइरहेकाे छ । शनिबार पहिलाे चरणकाे मतदानमा तीनजना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पहिलाे र दाेस्राे धेरै मत ल्याउनेबीच प्रतिस्पर्धा भइरहेकाे हाे ।

दाेस्राे चरणबाट बाहिरिएका डा. प्रेमध्वज लामाले वंशलाल तामाङलाई समर्थन गर्ने भएका छन् । आइतबार बिहान पत्रकार सम्मेलन गरेर लामाले आफ्नाे समर्थन वंशलाललाई रहेकाे प्रस्ट पारेका छन् ।

‘राजनीतिक निष्ठा, वैचारिक इमानदारिता र पार्टीप्रतिको प्रतिवद्धतामा यहाँहरूले जाहेर गर्नुभएको मतको मैले उच्च सम्मानको रूपमा लिएको छु,’ उनले भने, ‘लाेकतान्त्रिक प्रणालीअन्तर्गत हामीले जुन अभ्यास गर्‍याैं, त्यसले हामीलाई उच्च राजनीतिक संस्कारमा प्रवेश गराएको छ ।’

नेपाली कांग्रेस सिन्धुपाल्चोकलाई एकीकृत, वैचारिक र सुदृढ बाउने चुनौतीको सामना गर्न आफूले मोहनबहादुर बस्नेतको दादागिरी प्रवृत्तिको विरोध गर्दै वंशलाला तामाङलाई सहयोग गर्ने उनले बताए । लामाले पार्टीमा विभेद, निषेध र गैरराजनीतिक संस्कृतिको अन्त्य गर्नु आजको आवश्यकता भएको बताएका छन् । पार्टीभित्रको व्यक्तिवादी प्रवृत्ति अन्त्य गर्दै सामूहिक नेतृत्व विकास गर्न एकतावद्ध भएर लाग्न सबै प्रतिनिधिलाई उनले अनुरोधसमेत गरेका छन् ।

शनिबार भएको निर्वाचनमा संस्थापन पक्षका जंगबहादुरले सात सय पाँच मत प्राप्त गरे । कोइराला पक्षका वंशलाल तामाङले ६ सय २९ र संस्थापन पक्षकै डा.प्रेमध्वज लामाले चार सय ९३ मत ल्याए । ४० मत बदर भएको थियाे । सभापतिमा उठ्नकै लागि लामाले त्रिविकाे उपप्रध्यापकबाट राजीनामा दिएका थिए । तर अन्तिम समयमा माेहनबहादुर बस्नेतले लामालाई आधिकारिक उम्मेदवारकाे टिकट नदिई जंगबहादुरलाई दिएका थिए । यदि प्रेमध्वज लामालाई मत दिने सबैले वंशलाललाई मत हाले सिन्धुपाल्चाेकमा संस्थापन पक्ष पराजित हुने सम्भावना छ ।