मृतकको संख्या ६६ ,सरकारले राहत दिने

AddThis Social Bookmark Button

काठमाडौँ, २९ साउन/ गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म ६६ जनाको मृत्यु भएको जनाएको छ । गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् । रौटहटमा नौ, सुनरसीमा आठ, मोरङमा छ, सिन्धुली र झापामा चार,चार, दाङ, बाँके, सर्लाही, मकवानपुर र सुर्खेतमा तीन,तीन, बर्दिया, बारा, पाँचथर, महोत्तरी, हुम्ला, बाग्लुङ र चितवनमा दुई÷दुई तथा धनुषा, पाल्पा, इलाम र कपिलवस्तुमा एक,एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी झापामा १४, रौटहटमा आठ, मोरङमा सात, सुनसरीमा छ, मकवानपुर र पाँचथरमा तीन÷तीन, पर्सामा दुई तथा सप्तरी, सर्लाही, इलाम, धनुषा, बारा, सिन्धुली, धादिङ, नवलपरासी र बर्दिमा एक÷एक जना बेपत्ता भएका छन् । 

विपद्का कारण हालसम्म एक हजार पाँच घरमा क्षति पुगेको गृहमन्त्रालयले जनाएको छ । बाढीपहिरो तथा डुबानमा परेका व्यक्तिको खोज,उद्धार र राहत वितरणका लागि केन्द्रमा गृह मन्त्रालय र प्रभावित जिल्लामा जिल्ला प्रशासन कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी प्रतिकार्यका लागि समन्वय भइरहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । राहत वितरणका लागि प्रभावित २१ जिल्लामा रु एक करोड ९८ लाख रकम निकासा गरिएको गृह मन्त्रालयले जनाएको छ ।यसै वीच सरकारले वाढी पिडीतलाई दुई लाख रुपैयाा नगद दिने भएको छ ।सरकारले बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति रु दुई लाख दिने निर्णय गरेको छ ।

 प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने निर्णय गरेको बैठकपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । बैठकले मन्त्रिपरिषद्का सदस्यहरुको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णयसमेत गरेको छ । बैठकले बाढीपीडितका लागि खाद्यान्न, औषधोपचारलगायतको व्यवस्था युद्धस्तरमा गर्ने निर्णय गरेको छ । बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको सम्बन्धमा अध्ययन गरी सोहीअनुरुप पीडितलाई दिइने क्षतिपूर्तिबारे पछि निर्णय लिइने मन्त्री बस्नेतले बताउनुभयो । यसैगरी बाढीग्रस्त क्षेत्रको निरीक्षण तथा अनुगमनका लागि सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा सप्तरी, महोत्तरीलगायत जिल्ला जानुहुने कार्यक्रम रहेको सञ्चारमन्त्री बस्नेतले जानकारी दिनुभयो ।  

Add comment


Security code
Refresh