यसरी बन्दैछ बाल्टिमोरमा मन्दिर

AddThis Social Bookmark Button

बाल्टिमोर,अमेरिका,मार्च १० | 'अहिलेलाई म पाँच हजार सहयोग गर्छु,अनि मन्दिर सुरु भैसकेपछि बैंकको ऋण तिर्न मासिक ५१ डलर ऋण चुक्ता नभएसम्म सहयोग गर्छु |' 'हाम्रो समाजमा यस्तो पवित्र कार्य हुँदैछ,पैसा नै सबैथोक होइन त्यसैले म मेरो व्यवहार विस्तारै मिलाउँला,अहिले यो बेला मन्दिर बनाउने अभियानमा सहभागी हुन मैले आजीवन सदस्यता वापत एक हजार डलर सहयोग गर्ने निर्णय गरें,मैले कहाँ आएर दिनुपर्छ भन्नुहोला |''शुरुमा मलाई मन्दिर बन्ला भन्ने विश्वासै लागेको थिएन,त्यसैले मागी हाले भनेर चन्दा स्वरुप एक सय डलर दिएको थिएँ,तर उहाँहरुको सक्रियता देखेपछि र मन्दिरको लागि घर जग्गा समेत किन्ने तय गरेर देखाई सकेपछि मैले मन्दिरको संस्थापक आजीवन सदस्य बन्ने निर्णय गरी एकहजार डलर दिने निर्णय गरें |' 

अहिले बाल्टिमोर वरिपरि बस्ने नेपालीहरुका बीच एकापसमा प्राय: यस्तै कुराकानी भै रहेको पाइन्छ | विगत चार महिना पहिलेदेखि सुरु भएको बाल्टिमोरमा नेपालीहरुले आफ्नो मन्दिर बनाउने यो अभियानमा स्वयम् सेवकहरु अहोरात्र खटिरहेका छन् |

यो स्वस्फूर्त रुपमा सुरु भएको अभियानमा पदीय रुपमा कोही अध्यक्ष छैनन्,कोही नेता छैनन्,कोही कसैलाई पनि पद चाहिएको छैन | सबैको एकै स्वार्थ छ, जसरी हुन्छ एकापसमा मिलेर,हातेमालो गर्दै हामीले हाम्रो मन्दिर बनाउनु पर्यो | 

धर्म र आस्थाको विषय ज्यादै संवेदनशील हुन्छ | अमेरिकाको आप्रवासी नेपाली समुदाय अरु धेरै विषयमा विभाजित छ तर अहिले बाल्टिमोरमा बन्न लागेको पहिलो नेपाली हिन्दू बुद्ध मन्दिर निर्माण अभियानमा भने नेपालीहरु गौरवका साथ एकजुट भएका छन् |'यो भन्दा ठूलो र पवित्र सामाजिक काम के होला ? हामी बसेको समाजमा आफुहरुले आस्था गर्ने भगवानको पुजाआजा गर्ने सार्वजनिक ठाउँ छैन,हाम्रो छोरा,नातिको पुस्तालाई हाम्रो संस्कार,रीतिरिवाज र धार्मिक पक्षको बारे जान्ने र व्यावहारिक ज्ञान आर्जन गर्ने त्यस्तो थलो छैन,अनि अरु ठूला-ठूला कुरा गरेर के हुन्छ ? त्यसैले हामीले सबैभन्दा पहिले यो मन्दिर बनाउने अभियानलाई पुरा गरेर देखाउनुपर्छ' विगत साँढे चार वर्ष पहिलेदेखि हरेक महिना नियमित रुपमा भजन कीर्तन कार्यक्रम गर्दै आएको एक टोलीका सदस्य डाक्टर भीमप्रकाश कट्टेलको भनाई जस्तै मन्दिर बनाउने अभियानमा जुटेको छ अहिले बाल्टिमोरको नेपाली समुदाय | २२ भन्दा बढी परिवार संलग्न रहेको भजन कीर्तन टोलीका सबैजना कसरी चाँडो मन्दिर बनाएर अहिले महिनैपिच्छे अलग अलग घरमा हुने गरेको भजनलाई नेपालीहरुको आफ्नै मन्दिर परिसरमा आयोजना गर्न सकिन्छ भनेर चन्दा उठाउने अभियानमा लागिपरेका छन् | यसको अगुवाई भजन कीर्तन टोलीको समेत अगुवाई गरिरहेका स्थानीय डाक्टर श्याम कार्कीले गरिरहनु भएको छ |  

करीब चार महिना पहिलेको एक साँझ आफ्ना आफन्त र नजिकका साथीभाईका साथमा टिभीमा फुटबल गेम हेर्दाहेर्दै लौ अब हामी मिलेर बाल्टिमोरमा मन्दिर बनाउनुपर्छ भन्दै त्यसको लागि आफुले पाँच हजार डलर सहयोग गर्ने घोषणा गरेर यो अभियानलाई पुरा गर्न निरन्तर लागिपरेका यसका प्रमूख अभियन्ता कृष घिमिरे खाली हात शुन्य रकमबाट सुरु भएको यो सोचले पूर्णता पाउन लागेकोमा निकै उत्साहित छन् | 'हामी काम कम र कुरा बढी गर्छौं,अब काम गरौँ,कुरा मात्र नगरौं भन्ने सोचले यस्तो उद्देश्य बनाएको हो | जुन कार्यका लागि हामीले सोचेभन्दा पनि कैयौं गुणा बढी साथ पाएका छौं,हामी सबै जुटेका छौं,अमेरिका बाहिर सिंगापुरदेखि म कसरी सहयोग गर्न सक्छु भनेर नेपालीहरु जुट्नु भएको छ,साँच्चै सबै मिलेर गरे काम असम्भव केही छैन भन्ने पुष्टी हुँदैछ' त्यही शून्य हातबाट सुरु भएको योजना सार्थक बन्दै जाने क्रममा ६ लाख डलरभन्दा बढी रकम तिरेर किन्न निश्चित गरिएको ३१ एकडभन्दा बढी क्षेत्रफल भएको जग्गाको बीचमा उभिएर घिमिरेले भने | 

यो अभियानमा स्वस्फूर्त रुपमा सहभागी हुने युवाहरुको उल्लेख्य सहभागिता रहेको छ | यो पुस्ताको धार्मिक र सामाजिक उद्देश्यको यस्तो कार्यमा उत्साहजनक सहभागिता देखेर निकै आशावादी छन् मोर्गन स्टेट विश्वविद्यालयमा प्राध्यापनरत डाक्टर भीम कट्टेल | 'नयाँ पुस्ता यसरी जुटेको देख्दा हाम्रो धर्म र संस्कारको महत्वप्रति युवा पुस्ता निकै सचेत रहेछ भन्ने बुझेको छु' डाक्टर कट्टेलले भने | कट्टेलकै जस्तो बुझाई अभियन्ता एवं व्यवसायी कृष घिमिरेको पनि छ | ' म पनि युवा नै हुँ,मभन्दा पछिको हाल कलेज पढ्दै गरेको युवा पुस्ताको यस्तो होस्टेमा हैंसे गर्ने भावना चाहिं साँच्चै गौरव गर्न लायक छ | अहिले यो अभियानमा अहोरात्र जुट्नेहरुमा यस्तै उत्साही युवा भाईहरु देखेर मलाई गर्व लागेको छ, दाई हामीले के गर्नुपर्छ भनेर अघि बढेको छ यो पुस्ता' कृषले भने | 

हाल यो अभियानमा नियमित सक्रिय हुनेमा चालिस जना भन्दा बढी छन् | स्थानीय युवाहरु दीपक रिजाल,शालिक वाग्ले,मृगेन्द्र हुमागाई,केशब आचार्य,धिरेन्द्र पराजुली,विक्रम पोखरेल,श्रीकृष्ण रेग्मी,इन्दू रेग्मीलगायतका युवाहरु चन्दा संकलनलगायतका कार्यहरुमा खटिरहेका छन् | 'अहिले हामीलाई चाहिएको त सहयोग नै हो,त्यस बाहेक वेभ साइट बनाउनेलगायतका थप सहयोग कसरी संकलन गर्न सकिन्छ भनेर पनि साथीहरु समूह समूह बनाएर खट्नु भएको छ,यो सबैको लागि हो,मन्दिर सबैको साझा हो,त्यसैले सबै मिलेर मन्दिर बनाउन भनेर हामी जुटेका छौं' रकम संकलनको अभिलेख राख्ने र कबोल गरेको रकम संकलन गर्ने अभियानमा जुटेका स्वयम् सेवक दीपक रिजालले भने | 

यो अभियानमा अहिले बाल्टिमोर र डिसी क्षेत्रका छ सयभन्दा बढी घर परिवारका नेपाली जुटीसकेका छन् | जुन परिवारबाट शनिवारसम्म तीन लाख डलरभन्दा बढी रकम जुटेको छ | गत आइतवार मात्र प्रोपर्टी हेर्नका लागि पुगेका नेपालीहरुले १८ हजारभन्दा बढी रकम सहयोग गरे | 

यस मध्ये करीब दुई लाख डलर बैंकमा जम्मा भैसकेको छ भने दिने कबोल गरेको रकम धमाधम संकलन भैरहेको छ | मार्चको अन्तिम साता जग्गा पास गर्नुपर्ने हुनाले त्यसका लागि रकमको जोहो गर्न अभियानका स्वयम् सेवकहरु लागिपरेका छन् |'जग्गा पास गर्ने बेलासम्म हामीलाई तीन लाख डलर चाहिन्छ,अनि बाँकी रकम मोर्गेज कम्पनीबाट ऋण लिने हो,त्यसपछि लगत्तै यो विशाल भवन मर्मत सम्भार गरी मन्दिरका लागि बनाउन अर्को दुई लाख डलर जति तत्काल चाहिन्छ' अभियानको अगुवाई गरिरहेका कृषले भने |

ढुंगा खोज्दा देउता मिल्यो 

भनिन्छ, तँ आँट म पु-याईदिन्छु | यस्तै भएको छ यो मन्दिर बन्ने,बनाउने अभियान पनि | नेपालीहरुले स्वस्फूर्त रुपमा सहयोग गरिरहेका छन् | २५ जनाभन्दा बढीले पाँच हजारभन्दा बढी तिरेर बोर्ड अफ ट्रष्टीको सदस्य बन्ने निर्णय गरिसकेका छन् | एक हजारभन्दा बढी तिरेर आजीवन सदस्यता लिनेहरुको संख्या एक सयबाट बढी भैसकेको छ | छ सयभन्दा बढी घर परिवार सहयोगदाताको सूचीमा जोडिई सकेका छन् | हिन्दू मन्दिरको पवित्र सोचबाट सुरु भएको यो अभियानमा 'म सहयोग गर्न चाहन्छु' भनेर स्वस्फूर्त सहभागी हुने क्रम बढेको छ | जसका कारण अपेक्षा गरेभन्दा धेरै राम्रो र ठूलो प्रपर्टी पाइएको छ र नेपालीहरुकै सहयोगमा यो महँगो प्रपर्टी लिने निश्चित भै सकेको छ | जहाँ स्वीमिङ पुलदेखि टेबल टेनिस र बास्केटबल कोर्टसम्मको सुविधा छ | मन्दिरका लागि घर मर्मतसम्भार गर्न स्वयम् सेवकको एउटा टोली जुट्दैछ भने कहाँ कस्तो मूर्ति राख्ने र कहाँबाट ल्याउने भनेर अर्को टोलीले काम गर्दैछ | बाल्टिमोरमा नेपालीहरुको बसोवास रहेको प्रमूख क्षेत्र वरिपरि नै यो मन्दिर बन्दैछ,जुन भौगोलिक र प्राकृतिक रुपले पनि नेपालीहरुका लागि अत्यन्तै राम्रो ठाउँमा रहेको छ | बस्तीबाट केही माथिको डाँडामा रहेको यो ठाउँ निकै आकर्षक पनि छ | ऊ माथि शिवपुरी डाँडा भने जस्तै ठाउँ छ अहिले नेपालीहरुले आफ्नै श्रोतमा बनाउन लागेको प्रस्तावित मन्दिर क्षेत्र जहाँ ६ हजार पाँच सय स्क्वायर फीट क्षेत्रफलमा फैलिएको ठूलो सेतो भवन देख्न सकिन्छ | सोही भवनमा ६ कोठा र दुई तल्ला छन् भने भविश्यमा पुजारी बस्नका लागि छुट्टै घर छ | जग्गा धेरै भएका कारण भोली नेपालीहरुले सामुदायिक भवन,धर्मशाला, क्यान्टिन, सभाहल जे चाहे पनि बनाउन सक्ने अवस्था छ | जसलाई यसका अभियन्ताहरु ढुंगा खोज्दा देउता मिलेको भन्छन् | थप निर्माण कार्यका लागि स्थानीय प्रशासनबाट पूर्व अनुमति लिनु त छँदैछ | 

Add comment


Security code
Refresh