गौरीगञ्ज गाउँपालिकामा मृत्यु भएका २० जनाभन्दा बढीलाई सासु भत्ता

गौरीगञ्ज गाउँपालिकामा मृत्यु भएका २० जनाभन्दा बढीलाई सासु भत्ता


ग्लोब नेपाल
189
Shares

झापा । झापाको गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा (सासु) भत्ता वितरण गरेको पाइएको छ । योसँगै गाउँपालिकाले एउटै नागरिकता नम्बर र एउटै जन्ममिति भएका लाभग्राहीलाई दुई वा सोभन्दा बढी परिचयपत्र जारी गरी दुईवटै परिचयपत्रबाट सामाजिक सुरक्षा भत्ता बापतको रकम प्रदान गरेको हो ।

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ ले लाभग्राहीको नाम, दर्ता, नवीकरण, लगतकट्टा तोकिएको मितिभित्रै गर्नुपर्ने व्यवस्था गरेको छ ।

सोही कार्यविधिले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न नियमितरूपमा अनुगमन गर्नुपर्ने, केन्द्रीकृत सूचना प्रणालीमा प्रविष्टि गरी अद्यावधिक गर्ने जिम्मेवारी सामाजिक सुरक्षाको अख्तियारी पााउने सम्बन्धित निकायको हुने व्यवस्था गरेको छ ।

तर गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका २० जनाभन्दा बढीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको विवरण तयार गरेको छ । मृत्यु भएका व्यक्तिका नाममा मात्रै गाउँपालिकाले रु तीन लाखमाथि भुक्तानी गरेको छ ।

मृत्यु भएका व्यक्तिका नाममा गाउँपालिकाले भत्ता वितरण गरेसँगै महालेखाले सो रकमलाई बेरुजु लेखेको छ । महालेखाको प्रतिवेदनमा सो रकम गाउँपालिकाले असुल गर्नुपर्ने सुझावसमेत दिएको छ । तर गाउँपालिकाले सो रकम असुल गर्न कुनै चासो देखाएको छैन ।

त्यसो त गौरीगञ्ज गाउँपालिकाबाट बसाइँ सरी अन्यत्रै गएका व्यक्तिलाई समेत पालिकाले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ । सो रकमसमेत असुल गर्न महालेखाले पालिकालाई सुझाव दिएको छ । बसाइँ सरी गएका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता प्रदान गरेको देखिएपछि सो रकमलाई समेत महालेखाले बेरुजु भएको जनाएको छ ।

महालेखाको प्रतिवेदनमा उल्लेख भएअनुसार २०७५ साल फागुन २ गते मृत्यु भएकी गौरीगञ्ज गाउँपालिका–३ निवासी विधवा एकल महिला विजलीदेवी महतोसहित ११ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

त्यस्तै २०७५ असोज २६ गते मृत्यु भएकी हस्मातसन मियालाई प्रथम चौमासिक बापतको विधवा एकल महिला भत्ता प्रदान गरिएको छ । त्यस्तै २०७५ साल चैत १५ गते मृत्यु भएकी विधवा एकल महिला फगनीदेवी साहका नाममा समेत गाउँपालिकाले भत्ता वितरण गरेको छ ।

यसैगरी २०७५ साल चैत ११ गते मृत्यु भएका मनकामना श्रेष्ठ, २०७५ असोज २२ गते निधन भएका महरम मियालाई समेत ज्येष्ठ नागरिक भत्ता वितरण गरेको छ । गौरीगञ्ज–३ कै मीरा मल्लिकलाई विधवा एकल महिलाका नामबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । उनको २०७६ साल असोज १२ गते नै निधन भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै जहादु ताजपुरियाको २०७६ असोज २८ गते निधन भएको छ । उनका नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरण भएको देखिएको छ । विसं २०७६ असोज २४ गते मृत्यु भएका इन्द्रबहादुर क्षेत्री, २०७६ असोज २२ गते मृत्यु भएका बाबुजी महत्तो कोइरी, २०७६ असोज १४ मा मृत्यु भएको मनमाया पराजुली, २०७७ जेठ १५ गते मृत्यु भएका वसुलिया महत्तोलाई गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ ।

यता वडा नं ४ मा भने २०७४ फागुन १० गते मृत्यु भएका समपतलाल राजवंशी, २०७५ साल वैशाख ३० गते मृत्यु भएका चम्पादेवी ताजपुरिया, २०७६ असार ४ गते नै निधन भएका मङ्गल हेमरम, २०७६ असोज १० मा मृत्यु भएका अगमलाल ताजपुरिया, २०७६ असोज १० मै मृत्यु भएका हरिलाल गिरीको नाममा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

त्यस्तै वडा नं २ निवासी रामना हस्ताको २०७५ असार १२ गते निधन भयो । उनका नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । त्यस्तै सोही वडाको चुड्की मुर्मूको २०७४ चैत ८ गते निधन भयो । उनका नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

यसैगरी २०७६ पुस ३ गते निधन भएका विधवा एकल महिला पद्मादेवी राजवंशी, २०७० जेठ २५ गते निधन भएको विधवा एकल महिला विका हेमरमलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

यता २०७६ असार ३ मा गौरीगञ्ज गाउँपालिका–३ बाट बसाइँ सरी दुहवी नगरपालिका सुनसरी गएकी भद्रमाया विष्टलाई ज्येष्ठ नागरिक भत्ता प्रदान गरिएको पााइएको छ । गौरीगञ्ज–३ बाट गौरादह–८ मा बसाइँ सरी जाने गम्भीरमाया दर्जी, गौरीगञ्ज–२ बाट दमक बसाइँ सरी जाने सावित्रादेवी न्यौपानेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

त्यस्तै गाउँपालिकाले एमआइएसमा प्रविष्ट नभएको पूर्ण अपाङ्ग हंसनारायण रायलाई समेत सामााजिक सुरक्षा भत्ता प्रदान गरेको पाइएको हो ।

यता गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरले आफूहरु नवनिर्वाचित जनप्रतिनिधि भएको र अघिल्लो सरकारले गरेका विषयमा आफूलाई थाहा नभएको बताइन । यदि गाउँपालिकामा पारदर्शीरूपमा काम नभएको पाइए कडाइका साथ अनुगमन गर्ने र त्यस्तो कार्यलाई तत्काल रोक्ने बताइन ।