मेरिल्याण्डका सबै सार्वजनिक विद्यालय शैक्षिक वर्षभरका लागि बन्द

Globe Nepal
Globe Nepal 18 दिन अगाडी

बाल्टिमोर,अमेरिका,मे ७ । मेरिल्याण्ड राज्यका सरकारी बिद्यालय यो वर्षको शैक्षिक सत्रको बाँकी अवधिका लागि बन्द भएका छन् । कोरोना भाइरसको संक्रमणका कारण बन्द रहेको विद्यालयको शैक्षिक सत्रको बाँकी अवधि पनि बन्द गर्ने निर्णय गरिएको राज्यकी स्कूल सुपरिटेन्डेन्ट करेन सल्मोनले जनाएकी छिन् । उनका अनुसार,कोरोना संक्रमणबाट उत्पन्न संकटमा स्वास्थ्य सुरक्षाका निम्ति यसरी शैक्षिक सत्रको बाँकी अवधिका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
गत मार्च १६ तारिखदेखि राज्यका सबै विद्यालय बन्द छन् । मेरिल्याण्ड राज्यको शैक्षिक वर्षको क्यालेन्डर अगष्टको अन्तिम सातादेखि सुरु भएर अर्को वर्षको जुन महिनाको तेश्रो साता सकिन्छ । जस अनुसार अब बाँकी अवधि अर्थात् जुन महिनाको तेश्रो सातासम्म नै सार्वजनिक विद्यालयहरु बन्द रहनेछन् । स्वास्थ्य अधिकारीहरु र विद्यालय संचालकहरुसंगको परामर्शपछि विद्यार्थी,कर्मचारी,शिक्षक-शिक्षिका र विद्यालय समुदायको स्वास्थ्य सुरक्षाका लागि यस्तो निर्णय गरिएको पनि सुपरिटेन्डेन्ट सल्मोनले जनाएकी छिन् । विद्यालय बन्द भएपनि हाल जारी रहेको दूर शिक्षा (अनलाईन) अध्ययन भने जारी राखिनेछ । यसैगरी शैक्षिक सत्रको अन्त्यमा ग्र्याजुयाट गर्ने विद्यार्थीहरुको अभिलेख पनि यथावत नै राखिनेछ तर कुनै समारोह गर्नुपर्ने भएमा चाहिं राज्यले घोषणा गरेको सामाजिक दूरी कायम राख्ने आदेशलाई मानेर त्यस्तो शैक्षिक समारोह (दीक्षान्त) गर्नुपर्नेछ । हाल राज्यमा बढीमा १० जनाभन्दा बढी एकै ठाउँ भेला भएर कुनै जमघट गर्न नपाउने आदेश कार्यान्वयनमा छ । मेरिल्याण्डको शिक्षा विभागले शैक्षिक गतिविधिलाई केन्द्रीत गरी चाडै 'मेरिल्याण्ड टुगेदर:रिकभरी प्लान फर एजुकेशन' नामक विस्तृत योजना सार्वजनिक गर्ने तयारी गरेको छ । जसमा कोरोना संक्रमणपछि अब नयाँ परिस्थितिमा कस्तो शिक्षा नीति तय गर्ने र आगामी सत्रका लागि कसरी शैक्षिक कार्य तालिका बनाउने भन्ने विषय समेटिनेछ ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com