बाल्टिमोर,अमेरिका,मे १४ । अमेरिकामा दर्ता भई गीत सङ्गीत, कला, साहित्य र लोक संस्कृतिका लागि विगत दश वर्षदेखि क्रियाशील अन्तर्राष्ट्रिय कलाकार मञ्च,अमेरिकाको केन्द्रीय समिति पुनर्गठन गरिएको छ । अन्तर्राष्ट्रिय कलाकार मञ्चलाई अमेरिकामा स्थापना गरी यसको संस्थागत विकासमा सुरुदेखि नै योगदान दिँदै आउनुभएका संस्थापक, लोक तथा दोहोरी गायक, साहित्यकार एबम पत्रकार रामप्रसाद खनाल सर्वसम्मत रूपमा केन्द्रीय अध्यक्षमा चयन हुनुभएको छ । यसैगरी मंचको उपाध्यक्षहरुमा हाँस्य कलाकार शिवहरी पौडेल, नायक गणेश उप्रेती, नायिकाहरू क्रमशः: जल शाह, सारङ्गा श्रेष्ठ र पूजा चन्द चयन हुनुभएको छ ।
चलचित्र विकास बोर्डमा बसेर बोर्ड मेम्बरको रूपमा काम गरिसकेका चलचित्र निर्देशक, रङ्गकर्मी एवम पत्रकार सुरेश दर्पण पोखरेल महासचिव र गीतकार एवम साहित्यकार प्रकाश नेपाल सचिवमा चयन हुनुभएको छ । यसै गरी कोषाध्यक्ष एवम संस्कृति विशेषज्ञमा संस्कृति क्षेत्रका विशेष जानकार, नेपाली समाजका अगुवा एवम साहित्यकार भूपनारायण घर्तिमगरलाई छानिएको छ ।
केन्द्रीय कार्य समितिको बोर्ड अफ डाइरेक्टर तथा सल्लाहकारमा बिभिन्न विशिष्ट एवम चिरपरिचित कलाकर्मिहरुलाई समेटिएको छ ।
केन्द्रीय समितिको पुनर्गठनसँगै केन्द्रीय अध्यक्ष एवम् संस्थापक खनालको उपस्थितिमा दुई महिना भित्र नेपाल शाखा पुनर्गठन गर्ने तयारी भएको महासचिव सुरेश दर्पण पोखरेलले बताउनुभएको छ । केन्द्रीय समितिमा देश विदेशमा रहनुभएका धेरै कलाकारहरू रहनुभएकोले अन्तर्राष्ट्रिय कलाकार मञ्चका काम कार्वाहीलाई प्रभावकारी बनाउन अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहनुभएको विशेष अधिकार प्राप्त केन्द्रीय सचिवालय बनाइएको छ जसले केन्द्रीय समितिको पूर्ण बैठक नबसेका बेला सो सरह निर्णय गर्न सक्ने अधिकार प्रदान गरिएको छ ।
एक वर्ष भित्र अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मञ्चको आयोजनामा “अमेरिका स्तरीय कलाकार सम्मेलन गर्ने, सोही सम्मेलनलाई अन्तर्राष्ट्रिय कलाकार मञ्चको साधारण सभाको रूप दिँदै विधानलाई आबस्यक संशोधन सहित पूर्णता दिने, दुई वर्ष भित्र अन्तर्राष्ट्रिय कलाकार मञ्चकै आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय कलाकार सम्मेलन गर्ने “ योजना पनि मञ्चले अघि सारेको महासचिव सुरेशदर्पण पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।