मन्त्रालय फुटाएर ९ वटा बनाउने गण्डकी सरकारको निर्णय

मन्त्रालय फुटाएर ९ वटा बनाउने गण्डकी सरकारको निर्णय



पाेखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा रहेका ७ वटा मन्त्रालय फुटाएर ९ वटा पुर्‍याउने निर्णय गरेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीसँग रहेको आन्तरिक मामिला मन्त्रालय फुटाउने निर्णय भएको बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

गण्डकीमा यसअघि १२ वटा मन्त्रालय रहेकोमा २०७९ पुष २५ गते मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले नै घटाएर ७ वटा मन्त्रालय बनाएका थिए । यसपटक सत्ता संकटमा पर्ने देखिएपछि फेरि ९ मन्त्रालय बनाउने निर्णय गरेका हुन् ।

गण्डकीमा मुख्यमन्त्री नियुक्तविरूद्ध मंगलबार मात्र निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका छन् । बुधबार सर्वाेच्चले दीर्घकालीन महत्वकाे निर्णय नगर्न अन्तरिम आदेश जारी गरेकाे छ ।